Blog

कोविड-१९ सम्बन्धि धेरै सोधिने प्रश्नहरु

रुघा खोकी लाग्दा पी सी आर जांच गरायो भने जसको पनि रिपोर्ट पोजिटिभ देखाउँछ हो ?

होईन ! रुघा खोकी पनि कोविड -१९ को एउटा लक्षण हो। यदि तपाईं कोविड -१९ संक्रमित हुनु हुन्छ भने तपाईंको रिपोर्ट पोजिटिभ आउँछ।

अहिले समुदायमा र घर-घरमा कोविड -१९ को संक्रमण तिब्र गतिमा फैलिराखेको हुँदा कोविड -१९ संग मिल्दो जुल्दो लक्षण देखा परेमा जांच गराउन आवश्यक हुन्छ।

बेलैमा जांच गराउनु भयो भने तपाईंले पनि बेलैमा आवश्यक हेर बिचार पाउनु हुन्छ र अरुलाई संक्रमण सर्नबाट पनि रोकथाम गर्न सक्नु हुन्छ।

कोविड-१९ संक्रमित हुँदा कस्तो खाना खाने ?

सकेसम्म घरमै बनेको पोषिलो खाना दिनको ४ छाक खाने ।

धेरै चिल्लो, मसलादार खाने कुरा कम राम्रो हुन्छ ।

तर सामान्य खाना बार्नु भने पर्दैन ।

सकेसम्म झोलिलो खाना र पोषिलो फलफुल खान विशेष ध्यान दिने ।

एकै घरमा बस्ने कोविड-१९ संक्रमित व्यक्तिहरुले एक अर्कासंग भौतिक दूरी कायम राख्नु पर्छ कि पर्दैन ?

कोविड-१९ संक्रमित व्यक्तिले अर्को कोविड-१९ संक्रमित व्यक्तिसंग भौतिक दूरी राख्नु आवश्यक हुँदैन। एकै परिवारका कोविड-१९ संक्रमित व्यक्तिहरु संगै बस्दा बरु एकअर्काको हेरविचार गर्न सहज हुन्छ र एकअर्काको मनोबल कायम राख्न पनि सहयोग हुन्छ।

तर कोविड -१९ संक्रमित व्यक्तिले कोविड-१९ संक्रमण नभएको व्यक्तिसंग भने पर्याप्त भौतिक दुरी कायम राख्ने, सहि तरिकाले मास्कको प्रयोग गर्ने र सम्भव भएसम्म छुट्टै बस्ने गर्नु पर्छ।

पल्स अक्सिमिटरबाट अक्सिजन नाप्दा कति हुनुपर्छ ? कति आएमा अक्सिजनको प्रयोग गर्नूपर्छ ?

सामान्य स्थितिमा हाम्रो शरीरको अक्सिजन स्याचुरेशन ९५% भन्दा माथि हुन्छ।

कोठामा सामान्य ढङ्गले बसिरहेको बेला औँलामा पल्स अक्सिमिटरले नाप्दा, अक्सिजन ९३% भन्दा कम आयो भने अक्सिजनको मात्रा कम भएको भन्ने बुझिन्छ ।

श्वास प्रश्वास सम्बन्धि दिर्घकालिन समस्या (जस्तै – दम भएको व्यक्तिमा) भने कोभिड-१९ संक्रमण हुनुअघि देखि नै अक्सिजनको मात्रा कम हुन्छ। त्यस्ता बिरामीलाई भने साबिकभन्दा कम हुन थालेमा वा पहिले कति हुनेगर्थ्यो थाहा नभएमा ९२% देखि ८९% बाट ओह्रालो लागेपछि अस्पताल लाँदा पनि हुन्छ ।

कोविड-१९ संक्रमित हुँदा नुहाउन मिल्छ कि मिल्दैन ?

कोविड-१९ संक्रमित व्यक्तिले पनि आफ्नो सरसफाईमा ध्यान दिन आवश्यक हुन्छ। सामान्य लक्षण छ भने र हिंडडुल गर्न गाह्रो भएको छैन भने सामान्य अवस्थामा जस्तै नुहाउन सकिन्छ ।

तर धेरै चिसो पानिले ननुहाउने । मनतातो वा तातो पानिले नुहाउने । तातो पानीले नुहाउँदा पानीको बाफ रुमल्लिने बन्द कोठामा धेरै बेरसम्म बसिरहनु भने हुँदैन। यसो गर्दा पनि अक्सिजन कम हुन सक्छ।

लक्षण बढी छ र शरीरमा फुर्ति छैन भने, मन तातो पानिमा भिजाएको रुमालले आफ्नो शरीर राम्ररी पुछेर सफा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *